All_news

पत्रकारिता र संगितमा रमाउदै- देवेन्द्र वस्नेत

बाँके राप्ती सोनारी गाउँपालिका १ लौैकिमा जन्मेका देवेन्द्र बस्नेत विगत एक दशक देखि पत्रकारितासंगै संगित क्षेत्रमा पनि सकृय छन् । वस्नेत नागरिक दैनिक र रेडियो स्वर्गद्धारीमा आवद्ध छन् । गति रेकर्डिङ संगै औपचारिक सांस्कृतिक कार्यक्रममा उनको ब्यस्तता बढ्दो छ । हाल सम्म दर्जन गीतमा आवाज दिईसकेका उनि मुलतः सुगम संगित गायनमा आँफूलाई बढि अभ्यस्त राख्दै आएका छन् । दाङमा रहेर पत्रकारितासंगै संगित क्षेत्रमा समेत आवद्ध उनै बस्नेतसंग गरिएको यो कुराकानी ।

आजभोलि के मा ब्यस्त हुनुहुन्छ ?

  • निरन्तर सञ्चार कर्ममै छु । समाचार लेखन तथा बाचनको दैनिकी यथावत नै छ । सुचना संकलन र सम्प्रेशनमा हरेक घडी वितिरहेको छ । पत्रकारिता देखि अलि फरक पाटो गीत संगितको कर्ममा पनि आँफूलाई अपडेट गराईरहेको छु । संगित सृजना संगै सांस्कृतिक कार्यक्रमहरुमा सहभागीता बढिरहेको छ । अब सांस्कृतिक मेला महोत्सवहरुको सिजन पनि सुरु हुँदै छ । दाङ सहित बाह्य जिल्लाहरुबाट पनि निम्तो आउने क्रम बढ्न थालेको छ । पत्रकारिता र संगित कर्ममा आँफूलाई संगसंगै कुदाईरहेको छु । समग्रमा पत्रकारीता र संगित कर्ममा आँफूलाई “फिट” राख्ने यात्रामा म लागिरहेको छु ।

तपाई कलाकार कि पत्रकार ?

  •  देवेन्द्र बस्नेतको चिनारी जति पत्रकारिताबाट बनेको छ, त्यति संगितको क्षेत्रले बनाएको छैन । पत्रकारिता मेरो जनजीवीकासंग जोडिएको बिषय पनि हो । यसर्थ मैले पत्रकारितालाई आजका दिन सम्म जीवन निर्वाहको बलियो सुत्रका रुपमा दशक लामो अवधि देखि हेर्दै आएँ र हेरिरहेको छु । समय हो, भोलीका दिनहरु कसरी अगाडी बढ्ने हुन् ? तथापी पत्रकारीता क्षेत्रले दिएको मेरो परिचयमा पूर्ण बिराम लाग्ला जस्तो चाहिँ मलाई आजका दिन सम्म लागेको छैन । यसर्थ स्वाभाविकै रुपमा मैले आँफूलाई चिनाउँदा खेरी पत्रकारकै रुपमा चिनाउनु पर्छ । पत्रकारिता पछि मेरो अर्को परिचय कलाकार जोडिन्छ, या भनौ म आँफूलाई यो परिचय संग जोड्छु । यहाँनेर, मैले संगित क्षेत्रलाई अवहेलना गरेर यो शब्द बोलिरहेको भने हैन । म पत्रकारीता पेशामा रहँदै गर्दा मैले बाल्यकाल देखि गुम्सीएर बसेको संगित प्रतिको शौखलाई उजागर गरेँ । तर कलाकारको परिचय सहित संगित कर्मलाई आफ्नो जीवन निर्वाहसंग जोड्न भने यो मिति सम्म मैले सम्भव देखेको छैन । तथापी संगित क्षेत्र प्रति मेरो प्रेम, अगाध छ, सम्मान छ, र यो क्षेत्र प्रतिको मेहनत पनि जारी छ , जारी भैरहने पनि छ ।

सांगितिक यात्रा कसरी सुरु भयो ?

  •  मुलत ः मेरो सांगितीक यात्राको पहिलो जग मेरो बुवा नै हुनुहुन्छ । मेरो वुवा कृष्ण बस्नेत, उहाँ आँफैमा लोक दोहोरी गायक हुनुहुन्थ्यो । गाउँमा छँदा बुवाले हार्मोनियम बजाएको सुन्थेँ, म त्यो बेला सानो फुच्चे थिएँ । उहाँले गीत गाउँदाको लयमा ध्यान दिन्थेँ, शब्दमा चाख राख्थेँ । गीत के रहेछ ? भन्ने अनौपचारिक ज्ञान मैले बुवाकै गायकीबाट थाहा पाएँ । बुवाले गाएका गीतहरु सुनेकै आधारमा गायकीको नक्कल गर्न मन लाग्थ्यो । म सानो छँदा भैँसी ग्वला निकै लागेँ । ग्वाला जाँदा जहिलै हाते रेडियो बोकेर जान्थेँ । त्यो रेडियोबाट मैले सुन्ने भनेको गीत मात्रै थियो । जब गीत बज्न छोड्थ्यो, तब रेडियो बन्द हुन्थ्यो । यसरी घर भित्रैबाट संगित प्रतिको शौख चुलिने अवसर प्राप्त भयो मलाई । मलाई अहिले पनि याद छ, वुवाले एउटा एल्बमको तयारी गर्दै हुनुहुन्थ्यो, त्यो एल्बमको बी साईडमा मैले आफ्नो भोकलमा गीत गाउने प्रस्ताव बुवा समक्ष राखेको थिएँ, त्यो बेला मलाई बुवाले हकारेको मैले कहिल्यै बिर्सन्न । र बुवाले हकारेको त्यो शब्दले मलाई ईख जगायो पनि । मैले कुनै न कुनै दिन बुवालाई मेरो आवाजको गीत सुनाउँछु भन्ने सपनाका तानाबाना निकै बुनिए । मैले गीत रेकर्ड गर्ने मेरो त्यो बेलाको सपना पुरा गरेँ तर मेरो महत्वपूर्ण लक्ष बुवालाई गीत सुनाउन भने पाएन । मैले गीत रेकर्ड गरेको एक बर्ष अघि बुवाको निधन भैसकेको थियो । अहिले पनि दुख लाग्छ, मैले वुवालाई आफ्नो गीत कहिल्यै सुनाउन पाउने भएन । यसरी घरबाट सुरु भएको संगित प्रतिको मोहलाई मैले बाहिर प्रस्फुटन त्यति बेला गरेँ, जति बेला म पत्रकारीता क्षेत्रमा आँफूलाई अभ्यस्त गराईरहेको थिएँ । सञ्चार कर्मसंगै कलाकारीताका अग्रजहरु संगको चिनजान, भेटघाटले कलाकारीता क्षेत्र संग पनि सामिप्य गरायो । मेरा पत्रकारीताका गुरुद्धय विपुल पोख्रेल र सुदीप गौतमले संगितकर्ममा लाग्न गरेको जोडवल मेरो संगित यात्राको अर्को प्रमुख आधार हो ।

 दुवै क्षेत्रको व्यवस्थापन कसरी गर्नु भएको छ ?

  •  सबै भन्दा महत्वपूर्ण कुरा भनेको ‘समय व्यवस्थापन’ नै हो । मसय आफ्नै गतिमा चलिरहेको छ, समयको त्यो गतीलाई सहि ढंगले पकडेर आँफूलाई सोही अनुसार व्यवस्थापन गर्न सक्नु सबै भन्दा ठूलो र जटिल बिषय पनि हो । मैले अघि पनि भनेँ, मेरो मुख्य कर्म भनेको पत्रकारीता हो । म आँफूलाइृ पूर्णतः पत्रकारीतामा समाहित गरेकाले यो क्षेत्रमा आँफूलाई जतिबेलै अभ्यस्त राखिरहनु पर्छ । तथापी यो हैन कि कुनै एउटा पेशामा रहेको व्यक्तिले अर्को पेशालाई समय दिनै मिल्दैन । समाचार लेखन पछि फूर्सदिलो समयलाई संगित क्षेत्रमा उपयोग गर्ने गरेको छु । गीत रेकर्डिङका लागि काठमाडौँ जानै पर्ने वाध्यता छ । यो बेलामा ब्यापमा पत्रकारीताका औजार बोकेर काठमाडडौँ पुग्छु, ताकि काठमाडौँबाटै पनि खेती गर्न सकियोस् । जिल्ला बाहिर हुने मेला महोत्सवमा सहभागी हुन जाँदा पनि मैले पत्रकारीताका औजार बोकेरै जान्छु । यसरी दुबै क्षेत्रमा आँफूलाई समाहित गरिरहेकै छु । र मलाई लाग्दैन, मेरो पत्रकारीता र संगित क्षेत्रको संगसंगै यात्रामा अवरोध आउलान ।पछिल्लो समय नेपाली गीत संगितको अवस्था कस्तो छ ?
  •  तपाई हामी सबैलाई थाहा छ, पहिला कालजयी गीत भनेको सुनिन्थ्यो । तर अहिले यो कालजयी शब्द कमै मात्रै सुनिन्छ । त्यो बेलाका कालजयी भनिएका गीतहरुलाई मात्रै अहिले पनि कालजयी उपमा दिईन्छ । नारायण गोपाल, भक्तराज आचार्य, गुलाम अली लगाएका पुराना दिग्गज कलाकारहरुका गीतलाई मात्रै अहिले सम्म कालजयी गीत भनेर चर्चा गरिनुको कारण के ? उत्तर प्रष्टै छ कि त्यो पुरानो पुस्ता यता कालजयी गीत बन्न सकेनन् । अहिलेको नेपाली संगितको अवस्थाको गतिलो उदाहरण त यहि नै काफी छ । मुलतः के हो भन्नु हुन्छ भने नेपाली संगित क्षेत्र अहिले विशुद्ध व्यवसायिक क्षेत्र बनिसक्यो । लोकप्रियताको नाममा कुदिरहेको यो क्षेत्र अहिले सस्तो लोकप्रियताको भड्खालोमा दिनदिनै जाकिईरहेको छ । अब गीतमा मार्मिकता हुनु पर्दैन, बस गीत चल्नु मात्रै पर्यो, पछिल्लो संगित बजारमा घन्कीने बाहुल्य गीतहरुले यो उदाहरण प्रस्तुत गरिरहेका छन् । पुराना अग्रज कलाकारहरुका अनुसार पुरानो पुस्ताका दिग्गज कलाकारहरुले भनेको समयमा गीत रेकर्ड गर्न पाउँदैनथे । गीतको शब्द जाँच हुन्थ्यो, संगित जाँच हुन्थ्यो, यो जाँचमा गीत पास भएमा मात्रै रेकर्डिङका लागि स्टुडियो पाउँथ्यो । त्यो बेलाको स्टुडियो पनि रेडियो नेपाल मात्रै । अनि रेडियो नेपालबाट स्वर परिक्षा पास भएका कलाकारहरुले मात्रै गीत गाउन पाउँथे । तर अहिलेको संगित बजारमा यि सिमितता कुनै पनि छैन । शब्द जस्तो लेखेपनि गीत बन्यो, संगित जस्तो सुकै होओस् गीतमा भरियो, अनि स्वर भासिएकै भएपनि गीतमा मिसियो । यहि कारण अहिले नेपाली गीतहरुमा प्रयोग हुने शब्दहरु छाडा बनेको तपाई हामीहरुले सुन्दै आएका छौँ । मुलतः रातारात जसरी पनि हिट हुन्छु भन्ने सोँचले ग्रस्त केहि कलाकर्मीहरुका कारण समग्र संगित क्षेत्रलाई धुमिल बनाउने होकि भन्ने चिन्ता टड्कारो रुपमा पर्दै गएको छ ।

गीत संगीतको भविष्य कस्तो छ ?

  •  हिँजोका जस्तै कालजयी गीत निर्माण हुन सकुन् भन्ने मेरो सोँच हो । अहिले प्रविधीको विकास संगै गीत रेकर्डका लागि धेरै सहज भएको छ । तर गीतमा हुनुपर्ने गुणस्तरियता समावेश हुन्छ कि हुन्न भन्ने चिन्ता अहिलेको हो । रातारात हिट मात्रै हुने सपना देखेर बन्ने सोँचले संगित क्षेत्रमा पक्कै उँभो लगाउँदैन । तर अहिले पनि बास्तवीक गीत निर्माण गर्ने दिग्गज संगितकर्मीहरुले यसको सुधारको अभियान थाल्नु भएको पनि छ । यसर्थ यो अभियानले सार्थकता पायो भने नेपाली संगितको गुणस्तरिया उँचो बन्नेमा दुई मत छैन । अब गीत संगितको आर्थिक पक्षलाई हेर्ने हो भने मेरो व्यक्तिगत कुरा गर्दा संगित क्षेत्र सबैका लागि नाफामुखी क्षेत्र भने हैन । यो क्षेत्रमा लागेपछि म मनग्य आर्थिक लाभ लिन्छु भन्ने सबैका सोँच पुरा हुन सक्दैनन् । हो संगितकर्मबाटै मनग्य आर्थिक लाभ लिने कलाकारहरुको सुचि पनि नेपालमा कमी त छैन । तर त्यो सुचि सम्म पुग्नका लागि उत्तिकै मेहनत र लगावको खाँचो छ । मैले अघि पनि भनेनि , रातारात हिट हुने सोँचमा जन्मीने कलाकारहरुलाई यो अँझ धेरै असहज छ ।

कलाकारिता क्षेत्रको अनुभवलाई कसरी संमिक्षा गर्नु हुन्छ ?

म २०७० साल देखि औपचारिक संगित यात्रमा लागेँ । मेरो पहिलो गीत बजारमा आएपछि मलाई बाल्यकालको सपना एक हद सम्म पुरा गरेको अनुभुती पनि भयो र संगसंगै त्यो गीतले मलाई संगित क्षेत्रमा लाग्न उत्प्रेरणाा प्रदान पनि गर्यो । कुनै पनि काममा हात हालेपछि त्यो काम प्रति झनै उत्सुकता जाग्छ , मेरो पहिलो गीतले पनि ठ्याक्कै त्यसैगरि उत्प्रेरणा दियो । र त्यो गीतलाई धेरै अग्रजहरुले राम्रो सम्भावना बोकेको गीत भनेर टिप्पणी गर्नु भयो । यो जोडबलले पनि मलाई झनै उत्प्रेरणा प्रदान गर्यो । र अहिले सम्म झण्डै दर्जन गीतहरुमा आवाज दिने अवसर संगित क्षेत्रमा मिल्यो । र मेरो अहिले सम्मको कलाकारीताको अनुभवले उहि पुरानै कुरा भन्छ ‘संगित मेरो शौख हो ।’ र मैले देखेको, भोगेको र सुनेको समग्र कलाकारीता क्षेत्रको अनुभवको कुरा गर्नुहुन्छ भने कलाकारीताको भोलीको भविष्य के हुने होला ? भन्ने गम्भिर प्रश्न उब्जाईरहन्छ ।

गीत संगीत क्षेत्रको सुधारमा राज्यले कस्तो कुरामा ध्यान दिनुपर्ला ?

  •  एउटा कुरा त संगित क्षेत्र मात्रै हैन, हरेक क्षेत्रको कमजोरीको दोषी राज्यलाई बनाईन्छ । राज्यले यो गर्देन, त्यो गर्देन भनेर लगाईने आरोप हरेक क्षेत्रको साझा जस्तै हो । संगित क्षेत्रले पनि राज्यबाट अपेक्षा गर्ने मुलभुत एउटा मात्रै बिषय मेरो ब्यक्तिगत बिचारमा ‘कला क्षेत्रको सम्मान ।’ तपाई हाम्रै गाउँ समाजले कलाकारीता क्षेत्रलाई सहजै पचाउन अप्ठ्यारो मानिरहेकै छ । अँझ अहिलेको यो अवस्था पहिलेको तुलनामा धेरै सुधार भएको हो । कलाकारहरुलाई सस्तो ठान्ने । उनिहरु गाईने त हुन् नि भन्ने चिन्तन अहिले पनि विद्यमान नै छ । ठ्याक्कै राज्यको दृष्टिकोण पनि यहि नै हो । गाउँ समाज देखि सिंगो राज्यलेनै कलाकारीता क्षेत्र र कलाकारहरुलाई सम्मान गर्न सकोस् । जब सम्म यो क्षेत्रको सम्मान हुन सक्दैन, तव सम्म कलाकारीता क्षेत्रले राज्यबाट अरु कुराको अपेक्षा गर्नु व्यर्थ नै हुन्छ । जब राज्यले सम्मान दिन सक्दैन, बाँकी अरु के दिन सक्छ ? यसर्थ कलाकारीताको सम्मानमा राज्य गम्भिर बन्नु पर्छ । अन्त्यमा के केही भन्नु छ ।
  •  सबै कुरा त भनिसकिए झैँ लाग्छ , पत्रकारीता संगै कलाकारीता क्षेत्रमा आँफूलाई समाहित गरिरहेको छु । दुबै क्षेत्रलाई उत्तिकै मायाँ गरिरहेको छु र मेहनत पनि जारी नै राखेको छु । आम पाठक स्रोताहरुबाट मेरो अपेक्षा मैले राम्रो गरेँ म भन्न सक्दैन । मैले गरेको मेहनत मात्रै हो । मेरो मेहनत स्रोता पाठकहरु समक्ष मैले दिएको परिक्षा जस्तै हो । मेरो परिक्षाको परिणाम राम्रो नराम्रो फुली लगाईदिने जिम्मेवारी मैले यहाँहरुलाई सुम्पिएको छु । यसर्थ सदैव यहाँहरुबाट नतिजा संगै परिक्षा सुधारको सुझावको अपेक्षाको भोगी भैरहने छु ।

 

एसिड आक्रमणमा घाइते सम्झनाको मृत्यु

Previous article

७ नं प्रदेश नामको नाम सुदूरपश्चिम राख्न सिफारिस – राजधानी गोदावरीमा

Next article

सम्बन्धित खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

अधिक मा All_news