All_news

राष्ट्रपति सडकमा होइन, संविधानमा मात्रै भेटिऊन् : गगन थापा

नेपाली कांग्रेसका प्रभावशाली नेता हुन्, गगन थापा । काठमाडौं क्षेत्र नम्बर ४ बाट दोस्रोपटक निर्वाचित हुँदै सांसद् बनेका थापा संसद्मा सरकारविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएका छन् । संसद्मा प्रतिपक्षका रुपमा कांग्रेसको इज्जत उनै थापाले धानिदिएका छन् । सरकारले नीति तथा कार्यक्रम ल्याएपछि उनले संसद्मा सोबारे कडा प्रतिक्रिया जनाइसकेका छन् । अघिल्लो वर्ष नीति तथा कार्यक्रम ल्याउँदा कांग्रेसले त्यसमाथिको छलफलमा कमजोरी गरेको स्वीकार्ने थापा भोलिबाट हुने छलफलमा कांग्रेस सशक्त रुपमा प्रस्तुत हुने बताउँछन् । कांग्रेस सांसद् उनै थापासँग सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर गरेको कुराकानी :

सरकारको नीति तथा कार्यक्रममा ‘बुँदा नं ३ देखि २१५ सम्म विभिन्न बुँदामा सरकारलाई ‘मेरो सरकार’ भनी उल्लेख गरिएको छ । राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा त्यही शब्द पढ्नुभयो । तर, यसमा आलोचना भयो नि, किन ?

यो विषय आलोचनाभन्दा पनि चिन्ताको विषय भयो । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा रहेमा गणतन्त्र बलियो बन्दै जाने हो । पछिल्लो समयमा राष्ट्रपतिको संस्थाप्रतिको विश्वासमा, आस्थामा पहिरो आएको छ । त्यसलाई पुनः आर्जन गर्नुपर्ने बेलामा एकपछि अर्को घटनाबाट हामी झन्झन् स्खलित हुँदै जाने अवस्थामा पुगेका छौं ।

हामीले त भर्खर सुरु गरेको यो राष्ट्रपतिको संस्था हो । नेपालमा अहिले राष्ट्रपतिका प्रत्येक कामहरू पूर्वराजाको भद्दा नक्कल भयो भन्ने ढंगबाट आलोचना भइरहेकोतर्फ सरकार पटक्कै सचेत रह्यो कि रहेन ? यो सबै कुरा हेर्दा केही पनि भएको देखिरहेको छैन उसले ।

के सोचेर सरकारले राख्यो ? अहिले सरकारको कदमको पक्षमा वकालत गर्नेहरूले बाहिरको अभ्यास पनि यही छ, भारतमा पनि यस्तै छ भन्ने तर्क गरेको पाइन्छ । सरकारले मेरो सरकार राख्ने बेलामा पृष्ठभूमिमा केही छलफल त भयो होला नि ? के भयो होला ? अघिल्लो वर्ष नराखेकामा यो वर्ष के राख्नुपर्छ भन्ने कुरा आयो होला ? मेरो सरकार भनेर राष्ट्रपतिको सम्बोधनमा राख्दै गर्दा संविधानमा भएको व्यवस्था अनुकूल यो हुन्छ कि हुँदैन ? हामीले त भर्खर सुरु गरेको यो राष्ट्रपतिको संस्था हो । नेपालमा अहिले राष्ट्रपतिका प्रत्येक कामहरू पूर्वराजाको भद्दा नक्कल भयो भन्ने ढंगबाट आलोचना भइरहेकोतर्फ सरकार पटक्कै सचेत रह्यो कि रहेन ? यो सबै कुरा हेर्दा केही पनि भएको देखिरहेको छैन उसले । आमरूपमा नागरिकलाई राजाको भद्दा नक्कल गर्ने काम राष्ट्रपतिको संस्थाले गरेको गरेकै छ, जुन कुरा हामीलाई मन परेको छैन भन्ने कुरामा अर्को एउटा काण्ड थपियो । राष्ट्रपतिको संस्थालाई यसले अलोकप्रिय बनायो । राष्ट्रपतिको संस्थाप्रतिको आस्था घटायो । जुन पटक्कै आवश्यक थिएन । त्यसकारणले चिन्ता लागेको हो । हामीले ल्याएको संस्था हो नि । त्यसको प्रतिष्ठा, मर्यादा रहोस् भन्ने चाहन्छौं हामी । त्यसमा ठूलो गिरावट आयो ।

नीति तथा कार्यक्रम त सरकारले तयार गर्ने हो । तर, कांग्रेसले बेकारमा राष्ट्रपतिको आलोचना गर्यो भनेर पनि कतिवपयले टिप्पणी गरेका छन् । के भन्नुहुन्छ ?

मैले थाहा पाएसम्म सरकारले तयार गरेर जब राष्ट्रपतिकोमा पठाउँछ, राष्ट्रपति कार्यालयले त्यसको विषयवस्तुमा यसो गर भनेर नभने पनि भाषामा भन्न सक्थ्यो । किन गरेन ? त्यो कार्यालयले पक्कै हेर्ला । यसलाई एउटा विषय मात्र नराखेर हामीले शृंखलावद्ध रूपमा हेर्यौं भने राष्ट्रपति सडकमा निस्कँदा मानिस आत्तिने अवस्था छ । सकेसम्म राष्ट्रपति सडकमा नआइदिए हुन्थ्यो, शीतल निवासबाट ननिस्किदिए हुन्थ्यो भन्ने छ । कहीँ नदेखिए हुन्थ्यो, नेपालमा राष्ट्रपति हुनुहुन्छ भन्ने कुरा संविधानमा मात्र देखिएर अन्त कतै नभेटे हुन्थ्यो भन्ने छ ।

राष्ट्रपतिको कार्यक्रमहरूको देशविदेशको सहभागिताहरू हेरौं । हाम्रा केही चाडपर्वहरूमा जुनखालको व्यवहार र अभ्यास गरिरहनुभएको छ त्यसलाई हेरौं । राष्ट्रपतिको संस्थाप्रति तीव्र गतिमा प्रश्न उठिरहेको, आलोचना भइरहेको बेलामा अहिले अर्को एउटा कुरा थपियो जसको कुनै ‘जस्टिफिकेसन’ नै छैन । फलानो देशमा छ, त्यसले गर्दा यो अभ्यास नयाँ होइन भनेर भन्ने हो पनि ल ठिकै छ । त्यसमा हामी पूरै विषयवस्तुमा बसेर छलफल गर्न सक्छौं कुन देशमा कस्तो अभ्यास छ भनेर । मेरो सरकार भन्न राष्ट्रपतिलाई मन लागेको हो कि ? प्रधानमन्त्रीलाई लागेको हो कि ? जे कुरा लागेको हो, किन लागेको ? प्रश्न यो हो ।

राष्ट्रपतिमाथि प्रहार गर्नु गणतन्त्रमाथिको प्रहार हो भनेर यसअघि प्रधानमन्त्री ज्यूले भन्नुभएको थियो । अहिले तपाईंहरूले राष्ट्रपतिमाथि प्रहार गर्दै हुनुहुन्छ र यो पनि गणतन्त्रमाथिको प्रहार हो भनेर भन्दा अत्युक्ति हुन्छ र ?

राष्ट्रपतिमाथि प्रहार नै गरेको छैन । राष्ट्रपतिले किन यस्तो भन्नुभयो ? भनेको प्रधानमन्त्रीलाई नै प्रश्न गरेको हो । राष्ट्रपतिले यसलाई किन व्यक्तिगत रूपमा लिनुपर्याे । राष्ट्रपतिले गरेका प्रत्येक कामहरू सरकारले नै गरेका कामहरू हुन् भनेर प्रधानमन्त्रीज्यूले नै भन्नुभएको छ । चाहे त्यो राष्ट्रपतिका निम्ति नयाँ हेलिकप्टर खरिदको कुरा होला । चाहे राष्ट्रपति निवासको कुरा होला । हामी के कुरा मान्दछौं भने राष्ट्रपतिको संस्थाले होइन प्रधानमन्त्रीले नै गर्ने हो । हाम्रो प्रश्न पनि उहाँलाई नै हो । गणतन्त्रको धेरै पक्षहरूमध्ये महत्वपूर्ण पक्ष राष्ट्रपतिको संस्था पनि हो ।

पूर्व भएकाले त ध्यान पुर्याउनुपर्ने छ । अहिले भएकाले त झन् सानो सानो कुरामा ध्यान पुर्याउनुपर्छ । यो त भर्खर छ । यसको परम्परा कस्तो बसाउने भन्ने हो । स्वयं राष्ट्रपति सचेत हुनुहुन्न कि ? थाहै पाइरहनुभएको छैन कि ? यो त राजा महाराजाजस्तो भयो नि !

म त पूर्व राष्ट्रपतिलाई समेत भनिरहेको छु । एकचोटिको राष्ट्रपति कहिले पूर्व हुँदैन भनिन्छ नि । पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई हामीले एकपटक भन्यौं पनि । उहाँले त्यसलाई गम्भीरतापूर्वक लिनुभयो । तपाईं वीर अस्पताल वा जनकपुर अस्पतालमा नागरिकको उपचार गरिरहेको वा गएर कुराकानी गरिरहेको मात्र भेट्यौं भने अनि बल्ल राष्ट्रपतिको संस्था नागरिकले समानताको, आफ्नो प्रतिनिधित्वको, सबै कुराको द्योतक रहेछ भन्ने कुरा भेट्छ ।

पूर्व भएकाले त ध्यान पुर्याउनुपर्ने छ । अहिले भएकाले त झन् सानो सानो कुरामा ध्यान पुर्याउनुपर्छ । यो त भर्खर छ । यसको परम्परा कस्तो बसाउने भन्ने हो । स्वयं राष्ट्रपति सचेत हुनुहुन्न कि ? थाहै पाइरहनुभएको छैन कि ? यो त राजा महाराजाजस्तो भयो नि ! जाँदै गर्दा सडक पूरै खालि हुन्छ । आउँदै गर्दा हात हल्लाइरहेको मानिस भेटिन्छ । सारा देश मेरा वाहवाही गरिरहेको छ भन्ने पो लागिरहेको छ कि । पत्रपत्रिका, सामाजिक सञ्जालमा आएका सारा कुरा विपक्षीले गरेको योजनाबद्ध आक्रमण हो , होइन भने जनता त खुसी नै छन् भन्ने पो लागिरहेको छ कि ? पढ्दा पनि पढ्नुहुन्न कि ?

अब नीति तथा कार्यक्रमका विषयमा प्रवेश गरौँ । संसदमा शुक्रबार प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रमलाई कांग्रेसले कसरी हेरेको छ ?

पहिलो कुरा, नीति तथा कार्यक्रम भन्ने अवधारणमाथि नै मेरो वर्षौदेखि प्रश्न रह्यो । तर, त्यसलाई बदल्न सकिएन । यो किन ल्याएको ? नीति र कार्यक्रमबीचको फरक के हो ? नीतिलाई कसरी राख्ने हो, कार्यक्रमलाई कसरी राख्ने हो ? यसको निर्माण कसरी हुन्छ ? यसलाई संगठित कसरी गर्छौ ? प्रस्तुत कसरी गर्छौ ? यही ढर्रा किन चाहिने ? भन्ने कुरा गर्दै आएको हो । त्यसमा नयाँपन ल्याउनका लागि यो सरकारलाई जस्तो अनुकूल कसैलाई पनि थिएन, त्यो गरेन । यसले पहिलेदेखि गर्दै आएको कुरासँग राखेर हेरौं । सरकारले नीति तथा कार्यक्रम बनाउँदै गर्दा के के सोच्छ त ? सबैभन्दा माथि त संविधान छ । नेपाल सरकार सन् २०३० सम्मको दीर्घकालीन लक्ष्यसँग बाँधिएको छ । १५औं आवधिक योजना ल्याएको छ , त्यसलाई हेर्छ । पाँच वर्षका लागि निर्वाचित भएर आएको छ, १ वर्ष बितायो । उसलाई मार्गदर्शन गर्ने उसको घोषणापत्र छ । गएको १०/१५ वर्षलाई हेर्दा यो यस्तो पहिलो सरकार हो जसको प्रधानमन्त्रीले अघिल्लो वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । आज गर्दै हुनुहुन्छ । अर्को वर्ष गर्ने कुरा पनि शतप्रतिशत सुनिश्चित छ । यो भन्दा पहिला कस्तो हुन्थ्यो ? सुशील कोइरालाको सरकारलाई हेरौं । अघिल्लो वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । दोस्रो वर्षको प्रस्तुत गर्दा उहाँलाई तेस्रो वर्ष प्रस्तुत गर्न पाउँदिन भन्ने थाहा थियो । अहिलेको सरकार त त्यस्तो होइन ।

सरकारले नीति तथा कार्यक्रम लेख्दै गर्दा बितेको एक वर्षको इमान्दार भएर समीक्षा गर्नुपथ्र्यो । एक वर्षको समीक्षा गर्दैगर्दा यति बेइमान ढंगले समीक्षा गर्यो झुटै झुट सबै । कहीँकतै केही कमजोरी नै भएन । जे सरकारले सोचेको थियो सबै कुरा पूरा भयो । वाचा पूरा भएन भन्नेहरू बेइमान हुन्, मूर्खहरू हुन् । हामीले सबै पूरा गर्यौं भन्ने आधारमा टेकेर सरकारको नीति तथा कार्यक्रम अगाडि बढेको छ । त्यो आधारमा कमजोरी मात्र होइन बेइमानी पनि छ ।

उदाहरणका रुपमा संघीयतालाई हेर्न सकिन्छ । संघीयताको सन्दर्भमा हामी यो वर्ष कर्मचारीको व्यवस्थापन गर्न सकेनौं । ऐन, नियम कानुन बनाउन सकेनौं । प्रदेशहरूले कामै गर्न सकेनन् । भएको पैसा खर्च गर्न सकेनन् । यावत कुराहरू छन् । त्यसैले यस्तो भयो, यो वर्ष यस्तो गर्छौं है भन्नुपर्ने हो । नीति तथा कार्यक्रममा त्यस्तो देखिएन । मन्त्रालयगत कुरा गरौं । यसमा के नीति, के कार्यक्रम भन्नेमा अन्योल छँदै थियो । त्यसभित्र पनि मन्त्रालयभित्र त्यही कुराको निरन्तरता भन्ने हो भने कृषिको उदाहरण लिऔं । कृषिलाई यसरी लैजान्छु । व्यवसायीकरणलाई यसरी लैजान्छु । यसमा आधारित थुपै्र श्रमिकलाई यसबाट बाहिर निकाल्छु भन्यो । यान्त्रीकरण गर्छु भन्यो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई यसरी लैजान्छु भन्यो । यो यो कारणले यति उपलब्धि भयो भनेर वस्तुगत समीक्षा हुनुपर्ने हो । अब यो वर्ष यसो गर्छु भन्ने हो । गएको वर्षसँग तुलना गरेर हेरेँ कतै पनि सम्बन्ध देखिँदैन ।

नेपाल सरकारको नीति कसैले पल्टायो भने सरकारले यो वर्ष के के गर्दैछ यो कुरा आउने होला नि ? अनि त्यसको आधारमा पछि बजेट आउँछ । बजेटमा ती कार्यक्रमहरू आउँछन् । तर, नीति तथा कार्यक्रममा केही पनि छैन ।

भनेपछि सरकारको नीति तथा कार्यक्रम वस्तुगत भन्दा पनि काल्पनिक बढी भयो भन्ने कांग्रेसको निष्कर्ष हो ?

नेपालमा दुई तिहाईको सरकार आयो । सबै ठिकठाक भयो । पाँच वर्षका लागि हो । यसले पहिलाको भन्दा फरक गर्छ । हामी सबैले मानेको हो नि त । तपाईंले ल्याएको नीति तथा कार्यक्रममा यो यो मिलेन भन्दा तैंले पनि पहिला यस्तै ल्याएको थिइस् नि त भनेर भन्ने हो भने दुई तिहाईको सरकार किन चाहियो त ? यो सरकारले पाँच वर्षमा के के गर्छु भनेको छ मैले त त्यही आलोकमा हेर्ने हो । प्रधानमन्त्रीज्यूलाई पहिलो दिन बधाई दिने क्रममा मैले यही कुरा भनेको थिएँ । तपाईंको घोषणापत्रमा यो भन्नुभएको छ हामी हेर्छौं है भनेर भनेको थिएँ । गएको वर्ष तपाईंले कति रोजगारी सिर्जना गर्नुभयो ? गएको वर्ष सरकारले लिएको यो यो नीतिका कारण यसरी रोजगारी सिर्जना गरेँ । किनकि मेरो सरकारको प्राथमिकता जसरी पनि रोजगारी सिर्जना गर्ने हो । किनकि म नेपालबाहिर जानेलाई रोक्न चाहन्छु । यहीँभित्र काम गर्ने वातावरण बनाउन चाहन्छु । त्यसलाई सपोर्ट गर्ने कार्यक्रम के हो ? यो यो कार्यक्रम हो, नीति रोजगारी सिर्जना गर्ने हो । त्यसो भएदेखि रोजगारी सिर्जना गर्ने नीति त सरकारले परिवर्तन गरेको छैन । पहिले पनि त्यही थियो, अहिले पनि त्यही छ । उसले कार्यक्रम परिवर्तन गर्दै छ कि ? गत वर्ष कति रोजगारी सिर्जना भयो ? उसले यो वर्ष फेरि घोषणा गरिदियो ।

पहिला पहिला पनि यस्तै हुन्थ्यो भनेर यो सरकारले कदाचित भन्न पाउँदैन । यस्तो अनुकूलता छ । जुन उद्देश्यका लागि आएको छ । नत्र हामीले तिमी किन चाहियो भन्ने कुरा हुन्छ । आफ्नै पाँच वर्षका लागि पनि यो एक वर्षभित्र के गर्ने भन्ने कुरा नीति तथा कार्यक्रममा कहीँ पनि छैन । कार्यक्रम र नीतिको बीचको भेद पनि सरकारले छुट्याउन सकेन । यसको नीतिगत प्राथमिकता के हो भन्नेमा आफै अल्मलिएको छ । नीति तथा कार्यक्रमले भोलि गएर मन्त्रालयलाई कहाँनेर गाइड गर्छ त ? कुनै कुरा प्रष्ट छैन ।

तपाईंको विश्लेषण सुन्दा त सरकार नीति तथा कार्यक्रम बनाउँदा बरालिएको निष्कर्षमा पुगिन्छ । सरकारले नीति तथा कार्यक्रम निर्माण गर्दा त थुप्रै चरण पार गर्छ । त्यति हुँदा पनि तपाईंले भनेजस्तो बरालिने अवस्थामा कसरी पुग्यो होला सरकार ?

यो सरकार पूरै बरालिएकै थियो, अलमलिएकै थियो । बरालिएको, अलमिलएको सरकारले समीक्षा गर्ला, सुधारेर ल्याउला, सच्चिएला भनेको ठाउँमा यो त्यता गएन । अर्को कुरा योसँग के जोडेर हेर्नुपर्छ भने प्रधानमन्त्रीको टिम जसले नीति तथा कार्यक्रम बनाउन काम गर्यो त्यसले त मन्त्रिपरिषद्मा ल्यायो होला । त्यहाँ मुख्यसचिव होलान्, सचिवहरू होलान् । अरु मन्त्रीहरू होलान् । ती सबैले प्रश्न गर्न छोडे ? ती सबैले बोल्न छोडे ? कोही बोल्दैनन् अब ? प्रधानमन्त्री रिसाउनुहोला भनेर सबको मुख बन्द भएको हो ? अर्को डरलाग्दो कुरा यो भयो । सबै प्रधानमन्त्रीको नजिक हुन खोज्ने । प्रधानमन्त्रीजस्तै देखिन खोज्नुभएको हो । हामीले पनि पहिला हेर्यौं नि । प्रश्नहरू हुन्थे । आलोचनाहरू हुन्थे । फरक मतहरू हुन्थे । त्यो सबैबाट निस्किएर एउटा बाटो समातिन्थ्यो । त्यो सबै गयो जस्तो लाग्यो अब त ।

मलाई नेकपाको माया लागेर आयो । नीति तथा कार्यक्रमलाई उहाँहरू पनि स्वामित्व लिनुहुन्छ कि । प्रश्न गर्नुहुन्छ कि । हिजो नेताहरूको प्रतिक्रिया पनि हेरेँ । पार्टीमा बसेपछि बाँधिन्छौं । त्यो उहाँहरूको दुःख पनि बुझ्छु म । तर, कति दुःखका साथ उहाँहरूले बोलिरहनुपरेको होला ? संसदमा मैले यसो हेरें । एउटा नारा पढ्दै गर्दा राष्ट्रपति आफै हाँसिरहनुभएको थियो । बडो दुःखको भारी बोक्नुपर्ने अवस्थामा प्रधानमन्त्रीजीले पुर्याइदिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीले इतिहासमा पहिलोपटक दुई तिहाईको सरकार चलाउन पाएपछि गर्ने यही हो ? उसले यो वर्ष जे जे गर्ने भनेको छ त्यो गरेर समृद्धि आउँछ नेपालमा ? अब दोहोरो अंकको आर्थिक वृद्धिद्धर हुन्छ यो वर्ष ? यस्तो पनि हो ।

अघिल्लो पटक सरकारको नीति तथा कार्यक्रम आउँदा संसद्मा प्रतिपक्ष दल थियो कि थिएन, जनताले थाहा पनि पाएनन् । भोलिबाट संसद्मा नीति तथा कार्यक्रममाथि छलफल हुँदै छ । नेपाली कांग्रेसले यो विषयलाई कसरी उठाउँछ ?

यसमा के छ भने, गएको वर्ष हामीले जे गर्यौं, त्यो महाभूल थियो । त्यसलाई हामीले पनि ढाकछोप गर्ने काम ग¥यौं । हामीले त्यो थाहा पाएनौं, जानेनौं, संसदीय प्रक्रियामा सचेतच नभएको अवस्था थियो । तपाईंले उठाएको कुरा सही हो । संसदको पर्फरमेन्स चाहिँ प्रतिपक्षको भूमिकामा पनि ठूलो भर पर्छ । संसदको पर्फरमेन्सले सरकारलाई चेक गर्ने ब्यालेन्स गर्ने र दबाब सिर्जना र्ने नै हो । हामीले अरूलाई मात्रै दोष दिएर हुँदैन । तपाईंले मलाई नीति तथा कार्यक्रमबारे तपाईंको धारणा के छ भनेर सोधे जस्तै भोलि अर्कोलाई कांग्रेसले यसबारेमा बोलेको कुरामा तपाईंको धारणा के छ भनेर सोध्नुपर्छ । त्यसबेलामा उसले सरकारको नीति कार्यक्रम यस्तो लाग्यो, प्रतिपक्षको भूमिका यस्तो लाग्यो भनेर उत्तर दिँदै गर्दा त्यतिबेला हामीप्रति सकारात्मक हुने अथवा हाम्रो पक्ष राम्रो लाग्यो भन्ने अवस्थामा पुर्‍याउन सक्छौं कि सक्दैनौं, मुख्य कुरो त्यो हुन जान्छ ।

अहिले त हामी के गर्दै छौं भने सरकारले जस्तै दाबी गरिराख्या छौं । हामीले भूमिका खेलिराख्या छौं नदेख्या हो भनेर भन्छौं । यसपालि पहिलेभन्दा बढी व्यवस्थित छलफल भएका छन् । सबै जना तातेर कार्यविभाजन गरौं भन्ने कुरा आएको छ । हाम्रो भूमिकामा पहिलेभन्दा सुधार हुन्छ भन्ने अपेक्षा गरौं र हामी त्यसमा प्रयास पनि गर्छौं ।

अन्तिममा, संसदमा कांग्रेसको भूमिका सशक्त भएन, संसदमा गगनभन्दा अरु देखिएन, सुनिएन भन्ने पनि कुरा आएको छ । यसलाई सम्बोधन गर्न, संसदमा सशक्त भूमिका निर्वाह गर्न अब तपाईंको के भूमिका हुन्छ ?

अब हेर्नुस्, मैले नै यो पार्टीमा छाया सरकारको प्रस्ताव गरेको हो । एक डेढ वर्षभन्दा बढी भयो । यो पनि एउटा उपाय हो । अर्को हामीले पार्लियामेन्टमा कसरी प्रस्तुत हुने सम्बन्धमा विज्ञहरूको जुन सुझाव लिन्छौं, यसलाई अझै व्यवस्थित गर्न आवश्यक छ । त्यो सुझावलाई निरन्तर लिने व्यवस्था गरौं । प्रत्येक सांसदलाई स्ट्रङ बनाऔं । प्रदेशसभालाई पनि हामी अलि मजबुद बनाऔं । अघि मैले सरकारको कुरा गरें नि । पार्टी पनि त त्यही त हो नि । एउटा मेसिन जस्तो । सबै पार्टपुर्जा सही भयो भने पो मेसिन स्मुथली चल्ने हो त । र यसमा अर्को बिर्सनै नहुने महत्वपूर्ण कुरा, यी सबै कुरा भयो भने पनि यसलाई एउटा गाडी मान्ने हो भने गाडीको पार्टपुर्जा ठिक भएर पनि ड्राइभर ठिक भएन भने त हुँदैन ।

यसमा चैं के हो भने सरकारको प्रधानमन्त्री, मन्त्रीले के सोच्नुहुन्छ, के बोल्नुहुन्छ भन्ने कुराले धेरै अर्थ राखे जस्तै प्रतिपक्षमा पनि त प्रमुख नेता, हाम्रो पार्टी सभापति, दलको नेताले भोलि पार्लियामेन्टमा एर नीति तथा कार्यक्रममा विषयवस्तुलाई ठिक ढंगले उठाउनुभयो, उहाँले दिएको क्युलाई हामीले फलो गर्यौं भने हुने हो । अपोजिसनको लिडर भइसकेपछि उहाँमा त्यो कुरा खोज्छ, त्यो स्वाभाविक हो । नेताले त्यसलाई ठिकठाक ढंगले गर्न सक्यो भने अपोजिसनको रोल सही हुन्छ ।गर्न सकेन भने हुँदैन ।

कर्मचारीमा आफ्नै नाम राखेर चार जनाकाे तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष

Previous article

इजरायलमा तनाव : सेनाको आक्रमणबाट १४ महिने शिशुसहित ४ को मृत्यु

Next article

सम्बन्धित खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

अधिक मा All_news